Nepali News

एसीसी इष्टर्न रिजन : मलेसियासँग नेपालको नमिठो हार

विराटनगर, १७ फागुन । एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा हार ब्यहोरेको छ ।

शनिबार थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो ।

मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८–३८ रन बनाए भने पवन सर्राफले १९ रन बनाए ।

अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ शर्भिन मुनिएण्डीले ४ विकेट लिए भने पभन्दीप सिंह, सयाज्रुल इड्रस र खिजार हायातले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ५० रन बनायो ।

मलेसियाका लागि साइद अजिजले सर्वाधिक ३५ रन बनाँदा अनवर अरुदिनले २९ रन बनाए । यसैगरी कप्तान अहमेद फेजले २६ रन बनाउँदा अमिनुद्धिन राम्लीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ३ विकेट लिँदा अभिनाश बोहोराले २ विकेट तथा करण केसीले एक विकेट लिए ।

२३ फागुनसम्म आयोजना हुने उक्त प्रतियोगिता खेल्ने खेल्ने नेपाली टिम बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी–ट्वान्टी छनोटमा भाग लिनेछन् ।

उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी–ट्वान्टी कप प्रतियोगिता खेल्नेछ ।

एशिया टी–ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close