Nepali News

कथाः धड्किएको मुटु

उसले अघोषित घरेलु वेश्यालयकी एउटी अधबैँसे आइमाईलाई पाँचवटा हजारिया खट्खटी गनिदियो । र, वेश्याको कक्षभित्र पस्यो । केही समयपछि बाहिर निस्क्यो । पसिनै पसिना भएको थियो । त्यहाँ पसिना पनि पुछेन । सटासट सडकमा आइपुग्यो । सँगै गएको साथीलाई पनि पर्खेन । ट्याक्सी लियो र हरायो ।

०००००००

ऊ धनी थियो । पढेको थियो । सुन्दर थियो । आदर्शवान थियो । नैतिकवान थियो । आज्ञाकारी थियो । थियो, थियो र थियो । स्कुल वा कलेजमा उसको ‘अफेयर’ चल्नै पाएन । उसका साथीहरू बेला बेलामा रत्नपार्कको रेलिङ समाउन पुग्थे । तर ऊ गएन । जीवनमा कहिल्यै गएन । खोइ किन गएन ? के उसलाई कुर्कुरे वैँस आएन ? कारण पारिवारिक संस्कार र आफ्नै जीवनप्रतिको दृष्टिकोण थियो । उसको बिहे गर्ने उमेर त यसै पनि भएको थियो उसै पनि भएको थियो ।

बिहेका कुराले उसको शरीरमा झन्झनाहट हुन थालेको थियो । आनन्द महसुस हुन्थ्यो । एउटा सुख, नभोगेको सुख । जसलाई भोग्ने मान्छे भन्थे अलौकिक आनन्द । सम्भोगमा समाधिको आनन्द । उसले आफ्नो अति मन मिल्ने विवाहित साथीलाई भन्योः ‘अब त बिहे गर्नैपर्ने भयो । पथच्युत भइएला भन्ने पीर भइसक्यो ।’

उसको साथीले जवाफ दियोः ‘हो यार एक पल्ट चिप्लियो भने फेरि फेरि चिप्लिन मन लाग्ने रोग हो यो । तँ बिहे गरिहाल । यो यस्तो चिज हो जसलाई जस्तै ‘इटरनल’ साथी भए पनि स्वास्नी ‘सेयर’ गर्न सकिन्न ।’

उसको बिहे गर्न निकै समय लाग्यो । छनौटमा । आखिर एकपल्ट गर्ने न हो जीवनमा । बाबु धनी खोज्ने । आमा सुन्दरी खोज्ने । ऊ पढेकी र शौम्य खोज्ने । हजुरबुवा र हजुरआमा खान्दानी खोज्ने । घरलाई स्वर्ग बनाउने खालकी । अनि कुल मिलाएर धनी, राम्री, सुशील, कुलिन, धार्मिक विचारकी, पढेकी, खान्दानी, स्वभाव भएकी, दुर्मुखा नभएकी, धेरै टिङ्रिङे पनि होइन, पुड्की पनि होइन, मोटी पनि होइन, धेरै खलपत्रै गोरी पनि होइन, काली त झन हुँदै होइन, हाँस्ता गालामा दुई खोपिल्टा पर्ने ब्युटी बोन भएकी ।

भर्जिन पहिलो प्राथमिकता त हुने नै भयो । धेरै वर्ष छानेर उसले अब्बल बिहे गर्‍यो । अब्बल याने भूतो न भविष्यति । उसकी आमा रूपमा, बाबु दाइजोमा, ऊ शौम्यमा, र मान्छे सुन्दरताको चटाइमा मख्ख थिए/भए । ऊ उनीमाथि चिप्लिन चाहन्थ्यो, हतार हतार पोखिन चाहन्थ्यो । चाह उम्लिएको थियो । दिलखुस मिठाई जस्तै दिलखुस थियो । छिमेकी भन्थेः ‘क्या चिज ल्यायो हौ यो नरेशले।’

०००००००

ऊ उदास छ । ऊ अचेल हाँस्ता कृत्रिम हाँस्छ । नियमित अफिस जान्छ । फरासिलो छैन । साथीहरूले उसलाई सुहागरातको प्रसङ्ग झिकेर जिस्क्याउँछन् । ऊ हाँस्छ मात्र ।
अफिसबाट घर आएको छ । बिहेको रौनक घरमा सकिएको छैन । ठूलो साँझ । बुइगलमा निस्केर परपर देखिने निलो आकाश हेर्छ । पत्रै पत्र देखिने लुकामारी गरिरहेका बादलहरूलाई हेर्छ । वाइह्यात छन् यी आकाश र बादलहरू ।

यो आकाश किन निलो भएको होला ? किन यो बादल पत्रै पत्रमा लुकामारी गर्छ होला ? परको घरको छतमा एउटा मान्छे चुरोटको सर्को तान्छ र यसरी फाल्छ कि त्यो धुवाँ हावामा गोलाकार आकृति बनाउँदै विलिन हुन्छ । उसलाई त्यो दृश्य रमाइलो लाग्छ । ऊ हेरिरहन्छ । त्यो मान्छेले फेरि चुरोट सल्काएको छ र त्यसैगरी धुवाँलाई हावामा खेलाउँछ । शायद डाक्टरले चुरोट नखानू भनेको होला । त्यो मान्छेलाई मृत्युबोध भएको होला । र ऊ शायद इच्छित वस्तु उपभोग गरिहाल्न चाहन्छ होला । उसलाई लाग्छ मान्छेहरू पनि यही धुवाँको गोलाकार आकृतिलाई रूपमा सत्य ठान्छन् र सारमा त्यो हावामा बिलाउँछ ।

ऊ बसेको बुइँकलबाट बैठकको हल्लाखल्ला सबै सुनिन्छ । पाहुनाहरू भनिरहेका छन्ः
‘नरेश बाबु कति भाग्यमानी, रूप र शौन्दर्यले सुशील अर्धाङ्गिनी पाउनुभएको छ ।’
‘आखिर खान्दान पनि त केही हो । ल हेर त कस्ती लच्छिनकी, कस्तो मिलाएर सारी लगाएको ?टाउकोमा सप्को नछोड्ने ।’

‘त्यति मात्र हो र भात भान्सामा कस्तो परख रहेछ । सबै कुरा चट्ट चुट्ट । यस्तो बुहारी त भाग्यले मात्र पाइन्छ । हेर त त्यो मतान घरे साइँलोको छोरो के, अधिकृत भएको छ नि, त्यस्की बुढी कस्ती टिमुर्किएकी । मान्छेलाई मान्छे नै गन्दिन । बुढोलाई भने कज्याएकी छ है चोथालेले ।’
‘दाइजो पनि कस्तो दामी । अहा यस्तो पो खान्दान त ।’

कुरा सुनेर उसलाई रिस उठ्यो । यिनलाई अर्काको खोजि नीति कति चाहिएको ? तर चुप लाग्यो । ऊ बैठक कोठामा पस्यो । सबै पाहुनाको क्षेम कुशल सोध्यो । उसकी श्रीमती आइन् । सबैलाई अदबका साथ ढोग गरिन् । सबै दङ्ग । चिया चमेनाको जुठ्यान टेबुलभरि छरिएको थियो ।

०००००००

सुहागरात । ऊ कोठाभित्र पसेको थियो । कोठा खाली थियो । एकैछिनमा उसकी श्रीमती आइन् । उसले ढोका लगायो । डिम लाइट बाल्यो । कोठा सेक्सी देखियो । उसले श्रीमतीलाई एकोहोरो हेरेको थियो । अहा कति राम्री ? निलकमलको फूल जस्ती । जस्तो खोजेको थियो त्यस्तै रूपवती । श्रीमतीको घुम्टो खोल्यो । उनी लजाइन् । उसले भन्योः
‘तिमीलाई बेहुली भएको कस्तो सुहाएको ?’
‘हुम्’
‘किन नबेलेकी सानू ?’
‘के बोल्नू र ?’
‘आज हाम्रो सुहागरात हो ।’
‘………’
‘यो रात वैवाहिक जीवनको पहिलो रात हो ।’
‘………..’
उसले अँगालो हाल्यो । लुगा खोल्न थाल्यो । श्रीमती बल्ल बोलिन्ः ‘हजुर, एउटा कुरा भन्छु मानिस्योस् है त’
‘हुन्छ । आजको दिन तिमी जे माग्छ्यौ दिन्छु ।’
‘आज मेरो ब्रत छ । म चोखी छु । नबिटुल्याउनू है ।’
‘ल हुन्छ । तिमी त्यसो भन्छ्यौ भने ।’

०००००००

एक छोरा र छोरी छन् उनीहरूका । बुहारी एकदम असल भन्ने चर्चा छ गाउँभरि, सहरभरि । परबाट आउँदै गरेकी श्रीमतीलाई उसले हेरिरह्यो । निधारभरि लत्पतिएको विभिन्न रङ्गको टिका । स्वामी जगतानन्दको प्रवचन् नविराइ सुन्छिन् उनी । जतिबेला पनि सप्को टाउकोमा ।

खाँडीको टोपीलाई सुन्दर गुएँलाको फूलजस्तो । लकर लभर । उनको दिनचर्या भनेको प्रवचन सुन्नु, ब्रत बस्नु, तीर्थ गर्नु, भजन गाउँनु । के यसलाई उसले खराब भनोस् ? लोकले पत्याउला ? ।
उसले श्रीमतीलाई भनेकै होः ‘बिहेको उपादेयता सम्भोग हो ।’

उनले भनेकी थिइन्ः ‘सम्भोगको तात्पर्य सन्तान् उत्पादन् मात्र हो, हेर्नुहोस् त मान्छेबाहेक अन्य प्राणी । के तिनीहरूको सम्भोगको तात्पर्य सन्तान प्राप्ति मात्र होइन ? हामी मान्छे किन अबुझ भएका ?’

उसले थ्री एक्स देखाउँदै भनेको थियोः ‘सुख, शान्ति र जीवन यो हो सानू ।’

उनले भनेकी थिइन्ः ‘यो कृत्य अश्लिल हो । पाप हो । विषय बन्धन् हो । यो परित्यक्त हो ।’
‘तिम्रो यो विचारले जीवन नर्क हुन्छ सानू ।’

‘हजुरलाई थाहा छ ? बिहे किन कुनै साइनो नपर्ने मान्छेसँग हुन्छ ? किनकि सन्तान प्राप्तिपछि उसको केही काम छैन । ऊ तेज्य हो । परम सत्य भनेको गुरुको वाणी मात्र हो । गुरु वाणी नै मुक्तिको मार्ग हो ।’

‘त्यस्तो होइन सानू । यौनको आविस्कार भगवानले नै गरेका हुन् । यसको कारण सन्तान प्राप्ति मात्र होइन, सुखको आल्हादित संगम हो । यौन नै यस्तो कडी हो जसले चराचर जगतको चुरोलाई जोड्छ ।’
‘हजुरमा अज्ञानता व्याप्त छ । बिनागुरु सत्सङ्ले यो कुरा बुझिँदैन ।’

‘होइन सानू , श्रीमतीले आफ्नो लोग्नेसँग ओछ्यानमा पुगेपछि वेश्या बन्नुपर्छ । यस्तो वेश्या जोसँग गाँठवाल ग्राहक छ । र सन्तुष्ट बनाउनू धर्म हो । यसो भयो भने त्यो गाँठवाल वेश्याको अघोषित नोकर बन्न तयार हुन्छ । भन्नुको तात्पर्य लोग्ने र स्वास्नीले एक अर्कालाई यौन सन्तुष्ट पार्नु कर्तव्य हो, जैविक मात्र होइन ईश्वरीय आवश्यकता पनि हो ।’

उनले अलिकति रिसाएको जस्तो गरेर भनिन्ः ‘मलाई वेश्या बन्नु छैन । कसैलाई नोकर बनाउनू पनि छैन । सन्तुष्ट पार्नु पनि छैन । म परमार्थमा लागेरै सन्तुष्ट भएकी छु । म परमार्थतर्फ उन्मुख भएकी छु । मेरो यात्रालाई व्यवधान नगर्नुहोस् । मैले हजुरका सन्तान जन्माइदिएर लोक धर्म निर्वाह गरिसकेकी छु, मेरो वरत्र सप्रिसकेको छ र अब परत्र सपार्न उद्दत छु ।’

ठ्याक्कै एक महिना भयो दुवै जोई पोइ नबोलेका । मान्छे आए ऊ श्रीमतीलाई भन्छ ‘सानू, चियाको व्यवस्था गर है ।’

श्रीमती कृत्रिम खुसीले भन्छिन्ः ‘हवस्, त्यति पनि हजुरले मर्जी हुनुपर्छ र ? गरिहाल्छु नि ।’
मान्छे हिँड्छन् । बोलचाल बन्द । कसैलाई थाहा छैन कि उनीहरू यसरी दिन बिताइरहेका छन् । तडपिरहेका छन् । अभिशप्त बाँचिरहेका छन् । मरिरहेका छन् । के मर्न श्वास जानै पर्छ र ? के बाँचेको बोधकालागि नाटक देखाउनै पर्छ र ? खोइ यो नाटक नै जीवन हो कि !

०००००

खली साथीले सुनायोः ‘गाईले दूध नदिएर के भो त ? तँ जस्तो पैसावाललाई सहराँ गाई कति कति ? दूध कति कति ?’

ऊ साथीसँग जीवनमा पहिलोपल्ट दूध किन्न निस्क्यो ।
उसले वेश्यालाई हेर्यो । राम्री । राम्रीभन्दा पनि कृत्रिम श्रृङ्गार पेटार ।
उसले सोध्योः ‘नानी तिमी किन यो पेशा गछ्र्यौ ?’

‘पहिले लुगा खोलौँ’ उसले उसलाई निर्वस्त्र पारी । आफूनिर्वस्त्र हुनु नियमित त हो ।
‘अनि के गर्नु हुन्छ यो सब जानेर ? के किताव लेख्नुहुन्छ ?’ प्रश्न पो सोधी ।
‘होइन, त्यसै’ उसले जवाफ फर्कायो ।

‘संसारमा बिनाकारण कुनै घटना पनि घटेको छैन । सृष्टि पनि भएको छैन । तपाईँ यहाँ आउनुभएको पनि कारण छ र मैले यो दोकान थापेको पनि कारण छ, लजिक छ । यी सबै घटनाहरू कारणका परिणति हुन्’

‘तिम्रो नाम के हो ? घर कहाँ हो ?’
‘मैले सक्कली नाम र ठेगाना बताए पनि तपाईँ पत्याउनुहुन्न । अनि यो प्रश्नको औचित्य ?’
‘म बाध्यतामा यहाँ आएको हुँ र तिम्रो पनि बाध्यता जान्न खोजेको ।’
‘यसरी बुझ्नुस् न, कि कुनै पनि आमा आफ्नी छोरीलाई स्वेच्छाले वेश्या बनाउन चाहन्न । चाहँदै चाहन्न । तर परिस्थितिले उही आमा आफ्नी छोरीको वेश्यावृतिको टिकट काटेर काउन्टरमा बस्छे ।’
‘अहो कठोर सत्य ।’

‘अझ तपाईँ कल्पना गर्नुस् कि …………….. जे मनमा आउँछ कल्पना गर्नुस् । र यो तपाईँले किनेको समय हो खेर नफाल्नूहोस् ।’
‘खोइ, ममा किन उत्तेजना आइरहेको छैन ? किन म त्यसै त्यसै पग्लिँदैछु ? किन म ग्लानी बोध गर्दैछु ?’

‘मैले बुझिसकेँ कि तपाईँ पहिलोपल्ट हो । सुरुमा यस्तै हुन्छ । पहिलोपल्ट आउने यसै गर्छन् । जीवनमा हरेक पहिलो यस्तै नौलो, अनौठो र कौतुहलयुक्त हुन्छ । पीडादायी पनि हुन्छ । सोच्नूस् तपाईँको जन्म, स्कुल, कलेज, बिवाह, सुहागरात सबै नौला थिएनन् त ? केवल तपाई पहिलो मात्र सम्झनूस् र पोजिटिभ्ली सम्झनूस् सुन्दर देख्नुहुन्छ र यदि निगेटिभ्ली सोच्नुभयो भने पीडादायी । तर तपाईँ चिन्तै नगर्नुहोस् । यो सुरक्षित र बिनारिस्कको ठाउँ हो, यो श्रीमतीका आडम्बरले अभिशप्त भोका लोग्नेहरूको उपचार कक्ष हो । श्रीमान्का निरिहताले, बेवकुफीले र धोकाले अभिशप्त बाँचिरहेका स्वास्नीहरूका लागि पनि उपचार कक्षहरू हुन्छन् । छन् । समयले चौराहमा ल्याएर फालिदिन्छ ।’

‘हेर्नूस् त सुन्दरी मेरो मुटु किन यसरी हल्लिरहेको छ ? के म गलत गर्दै छु ?’

‘संसारमा परफेक्ट्ली के गलत ? के साँचो ? मान्छेलाई गलत लागे गलत र साँचो लागे साँचो न हो । निःसन्देह तपाईँको पहिलोपल्ट हो । तपाईँ अम्मली होइन र खली पनि होइन र पनि सरल रूपमा लिनुस्, सरल रूपमा बुझ्नूस् कि यसले तपाईँलाई पारिवारिक सुख दिन्छ । आखिर संसारमा लोग्ने मान्छे र स्वास्नी मान्छे बीचमा गरिने क्रियाकलाप न हो यो । सरल रूपमा लिनुभयो भने यो सरल प्रकृया हो । र मान्छे यसलाई जटिल बनाएर दुःख पाइरहेका छन् ।’

‘होइन, सुन्दरी म यो कार्यमा असमर्थ बन्दै गएको छु । मेरो उत्तेजनाको डिग्री स्वात्त झरिसकेको छ ।’

‘चिन्ता नगर्नूस, मसँग औषधि पनि छ ।’

वेश्यामा जीवन बाँच्नका लागि अभिशप्त बाध्यता देख्यो उसले । त्यहाँ खोइ यौन सुख ? खोइ स्वाभाविकता ? ऊ श्रीमतीका सामुन्ने प्रज्वल उत्तेजनाका साथ डुक्रिने साँढे अहिले लर्याक लुरुक्क परेको छ ।

वेश्याको प्रचुर प्रयत्नका बाबजुद ऊ असफल भएको छ । वेश्याले उसलाई भनेकी छिन्ः ‘फेरि आउनूस्, दिमाग सफा पारेर आउनूस् । यो पाप होइन । यो तेज्य पनि होइन । बरु यो मानव मुक्तिको एउटा चरमोत्कर्ष हो’ ।

०००००

उसको ट्याक्सी सेक्सोलोजिस्ट डाक्टर सुमार्गीको हँसमुख क्लिनिकमा पुगेर रोकियो । लाम लामै थियो । उसलाई डर थियो कि कोही चिनेकाले देख्ने हुन कि ? तर संयोग कसैले चिनेन । पैसा तिरेर टिकट काट्यो । केही समयपछि पालो आयो । ढोकाको चेपबाट श्वेत वस्त्रधारी नर्सले बोलाइन्ः
‘विवेकानन्द’

ऊ भित्र पस्यो । उसले आफैँलाई सोध्योः ‘के म विवेकानन्द हुँ ?’
उसले मनसँग भन्योः ‘आज नरेश र विवेकानन्द दुवैको मृत्यु भयो ।’
डाक्टरले सोध्न थाले । उसले हतार हतार भन्योः‘डाक्टर साहेब, म बिग्रेँ । म सडेँ । म वरवाद भएँ । म मतिभ्रष्ट भएँ । कृपा गरेर मलाई उत्तेजना नआउने औषधी दिनूहोस् ।’
डाक्टर सुमार्गीले उसलाई हेरिरहे चुपचाप ।
The post कथाः धड्किएको मुटु appeared first on Koshi Online.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close