Nepali News

गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा/विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यबराबरको जग्गा गुठीमा फिर्ता आएको छ । भू–माफियाले चलखेल गरी व्यक्तिको स्वामित्वमा पु¥याएको सो दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता आएको हो ।
नक्कली मोही खडा गरी भू–माफियाले सो जग्गा हडपेका थिए । विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मङ्सिर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो ।
राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति किर्ते थिए । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानुनी व्यवस्था भएको हुँदा जग्गा हत्याउन षड्यन्त्रपूर्वक किर्ते मोही खडा गरिएको थियो ।
लामो मुद्दामामिलापश्चात स्व. टीकादेवी विमलीका छोरा केशवप्रसाद विमलीले सोमबार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरेका हुन् । नेपाल सरकारको सहसचिवसमेत रहेका विमलीले ‘हक छाड सनाखत’ प्रावधानअन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरेको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताए ।
मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरूपमा गुठीको नाममा फिर्ता हुने दुलालले बताए । फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका–३ को कित्ता नं १२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं ८२२ को छ कठ्ठा, कित्ता नं ८२५ को १३ कठ्ठा र कित्ता नं ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।
तीन आरोपीमध्ये केशवप्रसाद विमलीले मात्र जग्गा फिर्ता गरेका छन् । सूर्यकुमार विमली र रमेश महर्जनले अझै जग्गा फिर्ता गरेका छैनन् । अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर अदालतमा मुद्दासमेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते किर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।
स्व डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौँदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रङ्गशाला निर्माण गरेका छन् । रासस

Back to top button