Nepali News

धिमाल समुदायका मौलिकता संकटमा

झापा, ५ फागुन । झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी ‘धिमाल’ समुदायको मौलिकता लोप हुने अवस्थामा पुगेको छ ।

धिमाल समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृति रहेको छ ।

अल्पसङ्ख्यक जातिका रुपमा रहेको सो समुदायको जनसङ्ख्या पछिल्लो जनगणना अनुसार ३० हजारको हाराहारीमा रहेको छ ।

आदिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले बताए ।

आफ्नै सामाजिक संस्कार भएको सो समुदायको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ ।

जात्री मेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रास पूजा, बान्धा पूजा, धुला पूजा, हाइजा पूजा, लक्ष्मी काइका पूजा आदि धिमालले मान्ने मौलिक चाडपर्व हुन् ।

केन्द्रका वरिष्ठ उपाध्यक्ष धिमालले आफ्नै जातीय वेषभूषाले सुसज्जित हुने यस समुदायले युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउन नसक्दा अहिले आफ्नो मौलिक संस्कार र संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गर्छन् ।

धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्रीका विषयमा युवा पिँढीलाई हामीले बताउन नसक्दा हाम्रो मौलिक रीतिरिवाज ओझेलमा पर्दै गएको उनको भनाइ छ ।

उर्नी, ढोल, सेरेन्जा, तुन्जाइ, दोतारा, घोगोमोगो, बाँसुरी हाम्रा आफ्नै परम्परागत बाजा रहेको उनले बताए । अहिले यी बाजा बजाउने युवा छैनन् ।

चाडपर्व, पूजाआजामा यस खाले बाजा बजाउनुपर्ने भए पनि युवा पुस्ताले संस्कार संस्कृति संरक्षणमा ध्यान नदिँदा हाम्रो मौलिक संस्कार संस्कृति नै लोप हुँदै गएको छ ।

धिमाल समुदायका मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न बिर्तामोड नगरपालिकाले धिमाल महिलालाई अहिले जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ ।

जातीय पहिरन संरक्षण हुने र महिलाले त्यसलाई व्यावसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने नगरपालिकाका सूचना अधिकारीसमेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

पेटानी बनाउन सिकाउँदै आउनुभएकी मोरङ पथरीकी सीता धिमालले भनिन्, “पेटानी बनाउने मात्रै सीप सिक्ने हो भने धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु पर्दैन ।”

पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच/छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् ।

पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् ।

पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् ।

पेटानी बनाउने हाम्रो पुख्र्यौली पेशा हो उनले भनिन्, “हाम्रो समुदायमा विवाह व्रतबन्धजस्ता कार्यमा पेटानी अनिवार्य छ तर, अहिलेका युवा पिँढीले पेटानी लगाउँदैनन् ।”

धिमाल समुदायको जनसङ्ख्या दमक नगरपालिकामा करिब १५ हजारको हाराहारीमा रहेको बताइएको छ ।

जातीय बसोबास सूची बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close