Nepali News

पत्रकारमा पेशागत दक्षता आवश्यक : उपप्रधानमन्त्री पोखरेल

इटहरी, १७ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताएका छन् ।

प्रेस सङ्गठन प्रदेश १ ले शनिबार इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उनले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्ने बताए ।

सरकार परिवर्तन भएको मात्र नभएर प्रणाली नै परिवर्तन भएकाले सरकारले निर्माणको कामलाई अघि बढाएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

“कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौँ, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौँ, हामी विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौँ”, उनले भने ।

सरकारले पनि पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने भन्दै उनले एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुने बताए ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले जनतालाई सही सूचना पु¥याउने काममा पत्रकारले जोड दिनुपर्ने बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले उल्लेख्य काम गरेको बताए ।

कार्यक्रममा नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्र्य थापा, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस सङ्गठन केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close