Nepali News

वाणिज्यमन्त्री भट्टले भनेजस्तै चीनसँगको ब्यापार रोक्न सम्भव छ ? – Online Khabar

८ माघ, काठमाडौं । बिहीबारबाट चीनसँगको तातोपानी नाका तीन हप्ताका लागि बन्द भएको छ । विभिन्न कारण पटक–पटक खुल्दै र बन्द हुँदै आएको यो नाका यसपटक मितेरी पुल मर्मत गर्न भनेर चिनियाँ पक्षले बन्द गराएको हो ।
यही बेला सोमबार नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिनियाँ नाकाबारे दिएको अभिव्यक्ति चर्चामा छ । उनले एक सार्वजनिक कार्यक्रममा चीनतिर प्रश्न तेर्साए, ‘छिमेकी मुलुक जिम्मेवार देखिएन, चीनसँग ब्यापार पनि गर्ने कि नगर्ने ? यसबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल गरेको छु ।’
मन्त्री भट्टको यो अभिव्यक्तिपछि नेपाल सरकारले चीनसँगको ब्यापार रोक्न लागेको हो कि भन्ने शंका पनि जन्मिएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा चीनसँग नेपालले एक खर्ब ८३ अर्ब ११ करोड १४ लाख बराबरको ब्यापार गरेको थियो । यसमा चीनबाट आयात मूल्य १ खर्ब ८१ अर्ब ९२ करोड ३ लाखको थियो भने नेपालले १ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपाल दैनिक उपभोग्य वस्तु र यन्त्र–उपकरणमा चीनमा निर्भर छ । चिनियाँ नाकामा पटक–पटक अवरोध आएपछि अहिले भारतीय बाटोबाट हुने आयात बढ्दो क्रममा छ । चिनियाँ हुँदै नेपाल ल्याउन लागिएका सामान लामो समयसम्म नाका रोकिएपछि मन्त्री भट्टले सार्वजनिक रुपमै कडा अभिव्यक्ति दिएका हुन् ।
अहिले चीनले दैनिक कोटा तोकेर आफ्ना कन्टेनरमा नेपाली सामान मितेरी पुलसम्म ल्याएर छाड्छ । यसले गर्दा सामान नेपाल आईपुग्न महिनौं लाग्ने समस्या छ ।
सजिलोमा भारततिरै ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएर देशभित्र राजनीतिक सरगर्मी बढेका बेला आएको मन्त्री भट्टको यस्तो अभिव्यक्ति आएको छ । चीन मामिलाका जानकार तथा परराष्ट्र मामिला अध्ययन केन्द्रका उपकार्यकारी निर्देशक रुपक सापकोटा चीनसँगकाे वाणिज्य सम्बन्धमा कुनैपनि हालतमा पुरानै शैलीको पुनरावृत्ति हुन नहुने बताउँछन् ।
उनको विश्लेषणमा  भारतबाट अप्ठेरो पर्दा चीनतर्फ हेर्ने अनि सजिलो अवस्था आउँदा भारततर्फ मात्रै फर्किने गर्नु नेपालको हितमा हुँदैन । ‘आर्थिक साझेदारीका समस्या सल्टाउन चीन अग्रसर हुँदा नेपाल उदासीन बन्न हुँदैन,’ सापकोटा भन्छन्, ‘चीनसँगकाे ब्यापार तथा पारवहन सन्धिअनुसार नै सम्बन्ध अघि बढाउनुपर्छ ।’
उनको बुझाइमा अहिले चिनियाँ नाकामा उत्पन्न गतिरोधको कारण व्यावहारिक हो । त्यसलाई समाधान गर्न उचित पहल हुनुपर्ने उनी बताउँछन् ।
‘कहिले हिउँ, कहिले पहिरो त कहिले बाढी र कहिले हिमताल फुट्ने जोखिमले चीनतर्फको बाटो छेक्छ,’ सापकोटा भन्छन्, ‘अहिले कोरोना महामारी कारण बनेको छ ।’
त्यही कारण चीनले एउटामा समस्या पर्दा अर्को नाका प्रयोग गर्न सक्नेगरी पूर्वाधार निर्माणमा जोड दिइरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले आफ्नोपट्टिको नाकामा वैकल्पिक सडक, सुख्खा बन्दरगाह लगायतका पूर्वाधार बनाउन कति जोड गरेका छौं, त्यो पनि हेर्नुपर्छ ।’
उनले यो व्यापार र पारवहनमा भारतमाथिको अतिनिर्भरता घटाउन पनि चीनसँगको ब्यापार बढाउनुपर्ने बेला भएको सापकोटाले बताए ।
उनले गतवर्ष काठमाडौं आउँदा चिनियाँ राष्ट्रपतिले दिएको भूपरिवेष्टित नेपाललाई भूजडित राष्ट्र बन्न साथ दिने बचनलाई आत्मसाथ गरेर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । चीनसँगको ब्यापार सम्बन्धबारे टिप्पणी गर्दा नेपालले तीन–तीन पटक भारतीय आर्थिक नाकाबन्दीको अनुभव भुल्न नहुने उनको मत छ ।
‘हामीले चीन र भारतसँग समानान्तर रुपमा ब्यापारिक ढोका खुला राख्नुपर्छ,’ सापकोटा भन्छन्, ‘अप्ठेरो पर्दा चीनसँग धेरै हौसिएर नजिकिने, अरु बेला टाढिने प्रवृत्ति कायम रह्यो भने हाम्रो आर्थिक कुटनीति  कमजोर बन्छ ।’
चीनको स्थलमार्ग भएर आउने सामान नाका सहज हुँदा न्युनतम १४ दिनमा नै काठमाडौं आइपुग्छ । सामुन्द्रिक बाटो भएर ल्याउँदा कम्तीमा २९ दिन लाग्छ । त्यसैले चीनतर्फको नाका सहज बनाउन कुटनीतिक पहल गर्नेतर्फ सरकारले बढी ध्यान दिनुपर्ने उनको मत छ ।
वाणिज्यविज्ञहरु नेपाललाई नाकामा परेको अप्ठ्याराहरु चीनसँगको औपचारिक वार्ताहरुमै स्पष्टसँग राख्नुपर्ने बताउँछन् । सन् २०१६ मा भएको ब्यापार तथा पाहरवहन सम्झौता र २०१९ मा हस्तक्षर भएको त्यसको प्रोटोकललाई आधार बनाएर चीनसँगका नाकामा सहज यातायात सञ्जाल विस्तार गरेर ब्यापार सहजीकरण जोड दिनुपर्ने उनीहरुको मत छ ।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा महामारीमा कडा स्वास्थ्य प्रोटोकल लागू गरेर आयात–निर्यातलाई सहज राख्नुपर्ने बताउँछन् । त्यसका लागि चीनलाई विश्वासमा लिन कुटनीतिक पहल र प्राविधिक तयारीहरु गर्नुपर्ने उनको मत छ ।
‘दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध हुनुपर्छ,’ उनी भन्छन्, ‘चीनसँगको ब्यापार तथा पारवहन प्रोटोकललाई कार्यान्वयनको दिशामा लैजानु नेपालको हितमा छ ।’
कोरोनाले ल्याएको समस्या
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल महामारी र यसलाई नियन्त्रण गर्न चालिएका कदमका कारण मात्र नाकामा समस्या देखिएको बताउँछिन् । उनी भन्छिन्, ‘यसबारे चीनलाई मौखिक र लिखित आग्रह गरेका छौं, माथिल्लो तहमा कुनै समस्या पनि छैन ।’
चिनियाँ पक्षबाट सहजीकरण गर्ने कुरा आएपनि नाकामा व्यवहारिक समस्या भइरहेको मन्त्रालयको भनाइ छ । समस्या हटाउन परराष्ट्र तथा वाणिज्य तहको संयन्त्र परिचालन गरिएको प्रवक्ता भट्टराईले बताइन् ।
रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीहरु पनि कोभिड र प्राकृतिक प्रकोप नै नाकालाई सहज राख्न समस्याका रुपमा रहेको बताउँछन् । आयातमा कोटा प्रणाली र निर्यात शून्य हुनुको कारण महामारी नै भएको उनीहरुको भनाइ छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त निर्यात पनि गर्न दिन प्रस्ताव गरेपनि नेपालमा कोभिडविरुद्ध अपनाइएको नियन्त्रण विधिमा चिनियाँ पक्ष विश्वस्त हुन नसकेको हुनसक्ने बताउँछन् ।
‘कोभिडका कारण मितेरी पुलमा वार्ता हुन्छ, असोज १४ पछि बैठक पनि बसेको छैन,’ प्रजिअ पन्त भन्छन् ।
सिन्धुपाल्चोकका प्रमख जिल्ला अधिकारी उमेशकुमार ढकाल पनि स्थानीय तवरमा चीन र नेपालको प्रशासनबीच सम्बन्ध सुमधुर रहेको र ब्यापारमा भने महामारीको कारण केही समस्या पर्न गएको बताउँछन् ।
भन्सार अधिकारीहरु भने ब्यापार सजीकरणमा चीन उदाशीन रहेको बताउँछन् । ‘नेपालतर्फ कारोना नियन्त्रणमा भएको कमजोरीलाई कारण देखाएर चिनियाँहरुले भेट्न समेत अस्वीकार गर्छन्’, भन्सार विभागका एक अधिकारी भन्छन् ।
व्यापार नरोक्ने तर, जोखिम नमोल्ने चिनियाँहरुको नीतिका कारण समस्या आएको उनको बुझाइ छ । महामारी नियन्त्रणमा नेपालले हेलचेक्र्याइँ गरेका कारण यो अवस्था आएको उनले बताए ।
‘चीन आइसोलेसनमा बस्न चाहन्छ, तर उसको आइसोलेसनले हामीलाई प्रभावित गर्ने अवस्था छ,’ ती अधिकारी भन्छन्, ‘चीनलाई मात्र दोष दिने विषय त हैन, तर उसले अन्तर्राष्ट्रिय ब्यापारलाई यसरी प्रभावित गर्न नहुने हो ।’
यसो गर्नु अन्तर्राष्ट्रिय ब्यापारको न्युनतम् मान्यता विपरीत हुने तर्क उनले गरे ।
‘मन्त्रीको अभिव्यक्ति ‘डिजास्टर’ बन्न सक्छ’
नेपाल सरकारले चीनमा सामान रोकिने समस्या समाधानको प्रयत्न गर्दै आएको छ । गत असोज अन्तिम साता समस्याबारे जानकारी लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली आफैंले नाकाहरुमा पुगेका थिए, तर समस्या जहाँको त्यहीँ रह्यो ।
यसरी चिढिएका आपूर्तिमन्त्री भट्टले चीनलाई कडा सन्देश दिन खोजेको हुनसक्ने व्यापारीहरु बताउँछन् । चीनबाट आयातित सामान बिक्री गर्ने ब्यापारीहरुको बाहुल्य रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल मन्त्रीले आफूहरुको पीडा बोलेको बताउँछन् । ‘तर, सार्वजनिक मञ्चमा चर्को भाषण गरेर हुँदैन, कुटनीतिक पहल बढाउनपर्छ,’ उनी भन्छन् ।
यस क्षेत्रका जानकारहरुले भने मन्त्रीको यस्तो बचनलाई पछिल्लो राजनीतिक घटनाक्रमले विकास गरेको चीनप्रतिको रोषको रुपमा बुझेका छन् ।
एक समय महावाणिज्यदूत भएका एकजना पूर्वसहसचिव मन्त्री भट्टले भौगोलिक अवस्थिति, तिब्बत लक्षित चीनको सुरक्षा चासो, नाकाहरुसम्म पुग्ने सडक पूर्वाधारको अवस्था, चीनको कोरोना नियन्त्रणको नीति र नेपाल–चीन आर्थिक कुटनीति नबुझेर यस्तो अभिव्यक्ति दिएको हुनसक्ने बताउँछन् ।
‘मन्त्रीज्युले राजनीतिक रोष प्रकट गरेको पनि हुनसक्छ’, नाम उल्लेख गर्न नचाहने ती सहसचिव भन्छन्, ‘चीनले पनि यसलाई गम्भीर रुपमा लियो भने आर्थिक कुटनीतिमा ‘डिजास्टर’ नै हुन्छ ।’
नेपाल सरकारको परराष्ट्र नीति, समाधान उन्मुख रहेको अल्पकालीन समस्या र महामारीजस्तो विशिष्ट अवस्था बिर्सेर सार्बजनिक खपतका लागि दिइएको कडा अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले खण्डन गर्नपर्ने उनको सुझाव छ ।
चीनसँग ब्यापार गर्ने कि नगर्ने भन्ने प्रश्नलाई साधारण रुपमा लिन नसकिने उनी बताउँछन् । उनका अनुसार, यस्ता चर्का अभिव्यक्तिले नेपाल–चीन दीर्घकालीन सम्बन्धमा गम्भिर असर पुर्‍याउन सक्छ ।
‘हामी चीनको बाटो भएर पुरै विश्व बजारमा जोडिन खोजिरहेका छौं’, उनी भन्छन्, ‘यस्ता अभिव्यक्तिबाट नेपालले प्रयोग गर्न खोजेको वैकल्पिक मार्गमा अबरोध सिर्जना गर्नसक्ने जोखिम हुन्छ ।’
पटक–पटक अवरोध
१२ वैशाख २०७२ को महाभूकम्पपछि रसुवगढी र तातोपानी नाकामा पटक–पटक अवरोध आयो । पछिल्लो एक वर्षमा यी दुई नाका १३ पटक खुल्ने र बन्द हुने भयो ।
नाका खुलेपनि दैनिक कोटा लगाएपछि छिटो र पर्याप्त दरमा समान नेपालमा आपूर्ति हुन सकेको छैन । महामारीको कारण देखाएर नाकामा पनि शर्त नै शर्त लगाइएका छन् । महामारीलाई सरल रुपमा दिन थालेका नेपाली अधिकारी र ब्यापारीका लागि चीनको स्वस्थ्य प्रोटोकल धेरै झन्झटिलो बनेको छ ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका २०७६ जेठ १५ मा खुलेको थियो । त्यतिबेलासम्म चीनले रसुवागढीलाई प्राथमिकता दिएको थियो । यो नाका पनि १३ महिनायता पटक–पटक अवरुद्व छ ।
नेपाल र चीन दुबैका कारणले नाका खुल्ने, बन्द हुने क्रम चलिरहेको छ । २०७६ पुसमा चीनतर्फको भूभागमा भारी हिमपात भएपछि रसुवागढी नाकामा अवरोध सुरु भएको थियो । त्यसपछि नयाँ वर्ष मनाउन भन्दै चीनले २०७६ माघ १५ गतेदेखि आफ्नोतर्फको नाका बन्द गर्‍यो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि नाका बन्द गर्ने निर्णय लम्ब्यायो ।
नेपालले पनि महामारीकौ कारण चैत ९ गते नेपाल–चीन नाका बन्द गर्ने निर्णय गर्‍यो । बाटोमा कन्टेनर अड्किएको भन्दै व्यापारीले नाका खोल्न आग्रह गरेपछि सरकारले चैत १२ गते मालवस्तु आयातका लागि आंशिक रुपमा नाका खोल्यो । नेपालले नाका खोल्ने निर्णय गरे पनि चीन तयार देखिएन ।
चीनले स्वास्थ्य सतर्कता र शर्तसहित गत चैत २७ गते तातोपानी नाका खोल्यो । शर्तहरुकै कारण बन्द रहिरहेको रसुवागढी नाका भने चारवटा कन्टेनरमा दैनिक १२० टन मात्र सामान नेपाल ल्याउने कोटा तोकेर गत असार २२ गते खुल्यो । नेपाली व्यापारीहरुले जति अनुनयविनय गरे पनि कोटा बढेको छैन । भदौ १७ मा केरुङमा काम गर्ने नेपाली श्रमिकमै कोरोना देखिएपछि चीनले फेरि नाका बन्द गर्‍यो ।
२४ असारमा सडकमा पहिरो खसेपछि तातोपानी नाका पुरै अवरुद्व भयो । हिमताल फुट्ने जोखिम देखाउँदै चीनले त्यसपछि पनि नाका खोल्न मानेन ।
नेपालको पटक–पटकको पछिपछि असोज १८ मा दैनिक ५ कन्टेनर सामान तातोपानी नाकामा ल्याइदिन चीन राजी भयो, तर नाकाका मजदुरमा कोरोना देखिएपछि ४८ घण्टा नबित्दै बन्द भयो ।
कात्तिकबाट १३ रसुवागढी र तातोपानी दुबै नाका पुनः सञ्चालनमा आए । तर, कोटा प्रणाली कायमै रह्यो । फेरि अब आज (बिहीबारबाट) चीनले नाका पुल मर्मत गर्न भन्दै तीन साताका लागि तातोपानी बन्द गरेको छ ।

Back to top button